काठमाडौं । नेपालको प्राचीन शैक्षिक धरोधर तीनधारा संस्कृत छात्रावासमा आयोजित कार्यक्रममा पूर्व सुपरिवेक्षकहरुलाई सम्मान गरिएको छ ।
नेपाल सरकारका पूर्व मन्त्री एवं नेपाली कांग्रेसका सह महामन्त्री बद्री पाण्डेले बुधबार दरवारमार्गमा आयोजित कार्यक्रममा पूर्व सुपरिवेक्षकहरुलाई सम्मानपत्रसहित रुद्राक्ष माला लगाएर सम्मान गरेका हुन् ।
तीनधारा संस्कृत छात्रावासका कर्मचारी पूर्णमान डङ्गोलको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा विद्यार्थी विवेक नेपाल, संस्कृत अभियन्ता प्राडा नवराज कट्टेल, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्राडा लालमणि पान्डे, नेपाल प्राध्यापक संघका उप सभापति विष्णु प्रसाद पन्थी एवं तीनधारा संस्कृत छात्रावासका सुपरिवेक्षक डा प्रकाश ढकाल लगायतले बोलेका थिए ।
सम्मान कार्यक्रममा नेपालका विशिष्ट राजनीतिक समालोचक एवं पूर्व सुपरिवेक्षक पुरुषोत्तम दाहाल, माधवराज गौतम , रामचन्द्र गौतम, नीलमणि ढुंगाना, रामहरि दाहाल, यतिराज भट्टराई, अर्जुनबाबु दाहाल लगायत अन्य व्यक्तित्त्वहरुलाई सम्मान गरिएको थियो ।
तीनधारा संस्कृत छात्रावासमा लामो समयसम्म कर्मचारीको रूपमा कार्यरत रहेका कर्मचारीहरुलाई पनि प्रशंशापत्र प्रदान गरिएको थियो । विसं १९४३ अक्षयतृतीयाका दिन पौरस्त्य आर्षसभ्यता र संस्कृतिको संरक्षण एवं संवर्द्धन गर्ने पावन उद्देश्यले वीर समशेरले तीनधारा पाकशालाको स्थापना गरेका थिए ।
हाल तीनधारा संस्कृत छात्रावासमा १११ जना विद्यार्थीहरुले आवासीय सुबिधा लिईरहेका छन् ।