सिन्धुपाल्चोक । ज्यापु संस्कृति विकास कोषद्वारा सम्पदा संरक्षण गुठी तथा सिन्धु नेवाः खल लगायत पुचहरुलाई निशुल्क बाजा वितरण गरेको छ । ज्यापु विकास संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनका अनुसार विभिन्न वाद्य वाधनका सामाग्रीहरू हार्मोनियम थान २, तबला २ सेट, पछिमा २ सेट, झ्याली ५ सेट, मादल ठूलो सानो गरी २ थान, ताँ १ सेट प्रदान गरिएको हो । उपाध्यक्ष महर्जनले संस्कृति सम्वद्र्धनमा ज्यापू संस्कृति विकास कोषले यस अघि काठमाडौंका ६३ टोल, थाहानगरपालिका, भक्तपुर, र भारतको सिक्किम लगायत क्षेत्रमा बाजा वितरण गरिसकेको बताउनु भयो ।
आइतबार सिन्धुपाल्चोकको पुरानो बजार चौतारामा आयोजित कार्यक्रममा कोषका अध्यक्ष मङ्गलकृष्ण सिंह, उपाध्यक्ष सन्त कुमार महर्जन, ज्यापु महागुठी नेपास्का अध्यक्ष सत्यनारायण डंगोल लगायतका पदाधिकारीहरूले सम्पदा संरक्षण गुठी चौताराका अध्यक्ष रविन्द्र श्रेष्ठलाई बाजा हस्तान्तरण गर्नुभएको हो । उक्त बाजा सिन्धु नेवाः खल, म्हसिका पुचः, भिन्तुना आमा समूह र ज्योतिष परिषद् लगायतले प्राप्त गरेका हुन् । पछिल्लो समय नेवाः संस्कृति जगेर्नाका लागि सिन्धुपाल्चोकका नेवाः समुदायले काठमाडौं, भक्तपुर र ललितपुर लगायत उपत्यकाका नेवा संस्कृतिका क्षेत्रमा काम गरिरहेका संस्थाहरुसँग सहकार्य गर्दै आएको सम्पदा संरक्षण गुठीका अध्यक्ष रविन्द्र श्रेष्ठले बताउनु भएको छ । त्यस्तै संस्कृति अभियन्ता ध्रुव श्रेष्ठले चौताराको नेवाः संस्कृति जगेर्नामा स्थानिय तहले प्रभावकारी भूमिका खेल्न नसकेको र बरु नेवाः समुदायलाई काठमाडौं उपत्यकाकै नेवाः समुदायबाट सहयोग मिलिरहेको बताउनु भयो । बाजा वितरणमा समन्वयकारी भूमिका खेलेका संस्कृतिकर्मी कुमार रन्जितले मुलुकभर लोपोन्मुख अवस्थामा पुगेको नेवाः सभ्यता र संस्कृति जगेर्नाका लागि काम गर्दै आएको ज्यापु संस्कृति विकास कोषले यस पटक सिन्धुपाल्चोकको चौतारामा बाजा आवश्यक्तालाई बुझेर वितरण गरिएको बताउनु भयो । उहाँले श्रीहरि भजन (मृदङ्ग) सुनाकोठीका तर्फबाट निःशुल्करूपमा भजन प्रशिक्षण प्रदान गरिने पनि बताउनुभयो ।
सम्पदा संरक्षण गुठी चौताराका अध्यक्ष रविन्द्र श्रेष्ठले निःशुल्क बाजा ग्रहण गर्दै २०७२ साल बैशाख १२ गतेको भूकम्पले विनाश गरेको चौताराको कृष्ण मन्दिरमा पुनः भजन शुरु गर्न स्थानीयवासीलाई निःशुल्करूपमा भजन प्रशिक्षण शुरु गरिएको बताउनुभयो । उहाँले सुनाकोठीका प्रशिक्षकद्वय सुरेन्द्र महर्जन र उमेश महर्जनका साथमा भजन प्रशिक्षणमा स्थानीयहरूले लाभ लिने बताउनु भयो भूकम्पपछि चौताराको कृष्ण मन्दिरमा टुटेको भजन संस्कृतिलाई निरन्तरता दिन बाजा सहयोगी हुने कोषको अपेक्षा छ । कार्यक्रममा म्हसिका पुचःका उपाध्यक्ष गुणकेशरी श्रेष्ठ लगायतले स्थानीय नेवा समुदायमा भाषाको ज्ञानमा कमी भएका कारण ज्यापु संस्कृति विकास कोषलाई भाषा प्रशिक्षणका लागि पनि आग्रह गर्नुभयो । म्हसिका पुचःका अध्यक्ष सिता श्रेष्ठ कसजुले चौतारामा निःशुल्करूपमा पाएको बाजा तथा भजन प्रशिक्षणले स्थानीय भजन संस्कृतिलाई अझ उचाइमा पुर्याउन सकिने बताउनुभयो ।
संस्कृतिको सम्वद्र्धनसँगै चौतारा साँगाचोक गढीमा नगरपालिकामा चर्चित तिर्थस्थल गौरती मन्दिर, कृष्ण मन्दिर, पछिल्लो समय विकास भएको बुद्ध पार्क र पार्कमा जाने पदमार्ग हजार सिंढी, भूत छाँगो, भदौरे गणेशथान, पुरानोबजारको नारायणस्थान, इर्खुको बोर्न प्रतिमा, स्याउलेको हर्लङबर्लङ मन्दिर लगायतले पर्यटकहरुलाई आकर्षण गर्दै आएको छ । यस क्षेत्रमा बसोबास गर्दै आएका नेवाः समुदायले आफ्ना पुर्खाले मान्दै आएका र लोप भएका संस्कृतिलाई पछिल्लो समय पुनः सम्वर्दन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने अभियान नै थालेको छ । यो अभियानलाई स्थानीय तह सरकारले समेत साथ दिन जरुरी रहेको कार्यक्रमका सहभागीहरुले जनाएको छ ।
कार्यक्रममा काठमाडौंबाट ज्यापु संस्कृति विकास कोषका अध्यक्ष, मंगलकृष्ण सिंह उपाध्यक्ष सन्त कुमार महर्जन, कोषाध्यक्ष निरज कुमार महर्जन, उपकोषाध्यक्ष गोविन्द महर्जन, एवं ज्यापु महागुठी नेपाःको केन्द्रीय अध्यक्ष सत्य नारायण डंगोल, कार्यसमिति सदस्यहरू तीर्थ नारायण महर्जन, कुल नारायण महर्जन, बालकृष्ण महर्जन, समाजसेवीहरु लक्ष्मण गमाल, रमेश महर्जन, कुमार रन्जित लेखक तथा साहित्यकार जितेन्द्र रसिक र काठमाडौंबाट विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता रहेको थियो । आयोजकले बाजा वितरक टिमलाई मायाका चिनो वितरण गरेका थिए ।