पोखरा। राजु गिरीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ छायाङ्कनको अन्तिम चरणमा पुगेको छ। निर्देशक गिरीका अनुसार हालसम्म करिब ९० प्रतिशत छायाङ्कन सकिएको छ र अब केही दृश्य मात्र खिच्न बाँकी छन्। हास्य कलाकारदेखि अभिनेता हुँदै लोकप्रिय बनेका सागर लम्साल ‘बले’ यस फिल्मका मुख्य पात्र हुन्। उनी आफ्नो फरक र दमदार भूमिकाका कारण यो फिल्मप्रति निकै उत्साहित देखिएका छन्।
फिल्मको कथा र पटकथा लक्ष्मण सुवेदीले लेखेका हुन् भने निर्माण उषा फिल्म्सले गरिरहेको हो। यसअघि राजु गिरीले निर्देशन गरेका फिल्महरूमा जस्तै यस पटक पनि उनले मनोरञ्जनसँगै सामाजिक सन्देश दिन खोजेका छन्। निर्देशक गिरीले भने, “यो फिल्मले दर्शकलाई हसाउने मात्र होइन, सोच्न पनि बाध्य पार्नेछ।” उनका अनुसार फिल्ममा कमेडी, ड्रामा र भावनात्मक पक्ष सबै मिश्रित छन्।
फिल्मको प्रमुख अभिनेत्रीको रूपमा नयाँ अनुहार रोशनी खड्का देखिँदैछिन्। उनले यसै चलचित्रमार्फत आफ्नो अभिनय यात्राको सुरुवात गर्दैछिन्। सागर र रोशनीको जोडी दर्शकमाझ ताजा र आकर्षक बन्ने अपेक्षा गरिएको छ। फिल्ममा उनीहरूबीचको केमेस्ट्री, कथामा आउने उतार–चढाव र सहरदेखि गाउँसम्म फैलिएको पृष्ठभूमिले चलचित्रलाई विविधतापूर्ण बनाउने बताइएको छ।
पोखराको याञ्जाकोट र काठमाडौंलगायतका विभिन्न स्थानहरूमा कथाको मागअनुसार प्राकृतिक सौन्दर्यले भरिपुर्ण स्थानमा फिल्मको छायाङ्कन भइरहेको छ । निर्माण टिमले मौसम र समय व्यवस्थापनका केही चुनौतीहरू व्यहोरे पनि अहिले सबै काम निर्धारित तालिकाअनुसार अघि बढिरहेको निर्देशक गिरीले जनाएका छन्।
सागर लम्सालको अभिनय, रोशनी खड्काको नयाँ उपस्थिती र राजु गिरीको निर्देशनसम्बन्धी अनुभवले गर्दा यो चलचित्र वर्षको प्रतीक्षित मनोरञ्जनमध्येको रूपमा हेरिँदैछ। दर्शकले बलेको नयाँ रूप, कथा र अभिनयमा नयाँ ऊर्जा अनुभव गर्ने विश्वास फिल्म टिमले व्यक्त गरेको छ।
राजु गिरीले अन्त्यमा भनेका छन्, “यो चलचित्र हाम्रो मेहनत र नेपाली कथाको आत्मा बोकेको परियोजना हो। दर्शकले ‘डल्लेले इन्ट्री मार्यो’ बाट फरक स्वाद पाउनेछन्।”
उषा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्मलाई श्याम तामाङले खिचिरहेका छन् भने सम्पादन गौतमराज खड्काले गरिरहेका छन् ।