काठमाडौ। क्षितिज फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘मझेरी’ को हालै चलचित्र विकास बोर्डमा दर्ता प्रक्रिया सम्पन्न भएको छ । फिल्म विकास बोर्डमा दर्ता भएसगै छायांकनमा जाने अन्तिम तयारीमा छ। फिल्म “मझेरी”लाई निर्देशन सुरेन्द्र कटुवालले गर्दैछन् भने छायांकनको जिम्मेवारी विगत डेढ दशकदेखि मेकअप आर्टिस्टको रूपमा सफल यात्रा गर्दै आएका तथा विभिन्न म्युजिक भिडियोहरूमा सह- निर्देशनको भूमिका निभाउँदै आएका सोम बहादुर मग्राती सार्कीले सम्हाल्दै छन्। यस चलचित्रमार्फत उनले पहिलोपटक छायांकनमा डेब्यू गर्न लागेका हुन् ।
यस कथानक फिल्मलाई बिनोद कोइरालाले निर्माण गर्दैछन । कोइरालाको कुरा गर्नुपर्दा करिब एक दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी व्यक्तित्व हुन्। केही समय व्यवसायिक व्यस्तताका कारण फिल्म क्षेत्रबाट टाढा रहे पनि उनी पुनः ऊर्जाशील रूपमा फिल्मनिर्माणमा होमिएका छन् । कोइरालाले ‘मझेरी’लाई आफ्नै गाउँ–समाजको सौन्दर्य, समस्या र संवेदनशीलतामा आधारित सशक्त प्रस्तुतिका रूपमा निर्माण गर्ने बताएका छन्।
‘मझेरी’को कथा, पटकथा र संवाद जीवन थापा ‘क्षितिज’ले लेखेका हुन्।क्षितिज’ का अनुसार फिल्म गाउँघरको सामाजिक बनोट, आपसी सद्भाव, आफ्नो माटोसँगको माया, परम्परा र पहिचान जोगाउने संघर्ष जस्ता संवेदनशील विषयवस्तुमा केन्द्रित छ।
चलचित्रका मुख्य कलाकारहरूमा जीवन थापा ‘क्षितिज’, सबिना तामाङ, सिर्जना भट्टराई र ज्ञानेन्द्र कोइराला आदि रहेका छन्। अभिनय पक्ष, कथानक र सामाजिक यथार्थको गहिराइका कारण ‘मझेरी’ प्रती फिल्मकर्मी तथा दर्शक दुबैको चासो उच्च रहने कलाकार तथा लेखक जीवन थापाको भनाइ छ ।
गाउँको वास्तविकता, संस्कार, परम्परा र समाजमा बिस्तारै हराउँदै गएको आपसी माया र एकताको सन्देश बोकेको ‘मझेरी’ले दर्शकलाई भावनात्मक रूपमा छुने निर्माण टिमको दाबी छ । छायांकनका लागि आवश्यक पूर्वतयारी पूरा भइसकेको र चलचित्र विकास बोर्डमा दर्ता प्रक्रिया सम्पन्न भएसँगै अब छिट्टै सुटिङ सुरु हुने जानकारी पनि निर्माण टिमले दिएको छ।