“घण्टी चिन्हबाट रिजालको उम्मेदवारी घोषणा: २७ वर्षको कर्मथलोबाट परिवर्तनको अठोट”

0 Shares

तुलसीपुर । विगत २७ वर्षदेखि दाङको पश्चिम भूगोललाई कर्मथलो बनाएर सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय हरिप्रसाद रिजालले दाङ क्षेत्र नं.–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्नुभएको छ ।

आफ्नो गाउँ–ठाउँको माटोसँग जोडिएर निरन्तर संघर्षरत रिजालले पछिल्लो १० वर्षदेखि देशमा पुराना राजनीतिक शक्तिको विकल्प निर्माण गर्ने अभियानमा आफू सक्रिय रहेको उल्लेख गर्दै नागरिकको बदलिँदो चेतना, जेन–जि आन्दोलन र जनअपेक्षाको प्रतिनिधित्व गर्न राजनीतिमा प्रवेश गरेको बताउनुभयो ।

उम्मेदवारी घोषणा गर्दै उनले आफू राजनीति पद, पहुँच वा सौदाबाजीका लागि नभई नयाँ मूल्य, नयाँ जवाफदेहिता र परिणाममुखी राजनीतिमार्फत देश निर्माण गर्ने अठोटसहित मैदानमा आएको स्पष्ट पार्नुभयो । । “पुराना अभ्यासबाट होइन, नयाँ राजनीतिक संस्कारबाट देश बदल्न सकिन्छ भन्ने विश्वासका साथ म रास्वपाबाट उम्मेदवार बनेको हुँ,”उहाँले भन्नुभयाे ।

रिजालले आफू भाषणभन्दा सेवाबाट चिनिएको व्यक्ति भएको दाबी गर्दै संकटमा मात्र देखिने नेता नभई सधैं समुदायसँगै रहने अभ्यास आफूले गरेको बताउनुभयो । किसान, युवा, व्यवसायी, महिला तथा विपन्न वर्गका समस्या आफ्नै अनुभवबाट बुझेको उहाँको भनाइ छ।

सम्बन्धित समाचारसबै