एमालेले अहिले नयाँ सरकार बनाउने भन्दा पनि गठबन्धनको भूमिकालाई नियालिरहेको छ : एमाले नेता रिमाल

0 Shares

काठमाडौं- एमाले उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री बाहेकका साझा पदहरूमा विपक्षी दलसँग समझदारी गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

उनले प्रधानमन्त्री अंकगणितबाट निर्धारण हुने भए पनि अन्य साझा पदहरूमा भने विपक्षी दलसँग समझदारी गर्न आवश्यक रहेको बताएका हुन् । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुख लगायतका साझा पदहरूमा विपक्षी दलसँग समझदारी गरेर अघि बढे मात्रै राजनीतिमा स्थिरता कायम हुने उनले बताए ।

गठबन्धनमा रहेका नेता र दलहरूले विपक्षीसँग मिलेर जाने दृष्टिकोण नबनाए राजनीति झनै अस्थिरतामा जाने बताउँदै रिमालले ४ मंसिरको निर्वाचनमा एमालेले सोचेको जति स्थानमा जित हासिल गर्न नसक्नुमा एमालेका उम्मेदवारहरूलाई निर्वाचनमा हराउने क्याम्पियन चलाउनु रहेको बताए ।

‘निर्वाचनमा ३६ जना नेकपा एमालेका उम्मेदवारहरूमाथि लिस्ट बनाएर नै निर्वाचनमा हराउने क्याम्पियन चलाइएकाले निर्वाचनमा हाम्रो ६ प्रतिशत भोट घटेको छ।’ उनले भने ।

एमाले जनादेशको हिसाबले देशको ठूलो पार्टी भए पनि अंक गणितका हिसाबले ठूलो बन्न नसकेको बताउँदै एमाले स्थिरताको पक्षमा रहेको र  स्थिरताका लागि आवश्यक पहल गर्न तयार रहेको उनले बताए।

रिमालले कांग्रेस लगायतका दलहरूले पनि स्थिरताको पक्षमा सोच्नुपर्ने बताए। उनले नेकपा एमालेले अहिले नयाँ सरकार बनाउने कुरामा भन्दा पनि गठबन्धनको भूमिकालाई नियालिरहेको बताए ।

सम्बन्धित समाचारसबै