काठमाडौं– नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी बालिग भएको प्रमाण अस्पतालले पठाएको छ । आज जिल्ला अदालत काठमाडौंलाई नारायणी उपक्षेत्रीय अस्पतालले पठाएको विवरणमा किशोरीको जन्म मिति २०६१ साल जेठ १८ गते देखिएको सन्दीप लामिछानेका एक वकिलले बताए ।
पीडित किशोरी नाबालिग वा बालिग भन्ने विषयमा विभिन्न तर्क आएपछि जिल्ला अदालतले अस्पतालबाट जन्म मिति ल्याउन आदेश दिएको थियो । अस्पतालको तथ्यांकमा उनको जन्ममिति २०६१ जेठ १८ उल्लेख रहेको देखिएको वकिलहरूको दाबी गरेका थिए । त्यो अहिले आएर पुष्टि भएको छ ।
भदौ ५ को केश भएकाले ती किशोरी जेठ १८ मै १८ वर्ष पुगेको देखिनु सन्दीपका लागि सुखद् खबर हुनसक्छ । केही दिनअगाडि नुवाकोटबाट ती युवतीको वडाले पठाएको पहिलो जन्मदर्ताको विवरणमा पनि सोही जन्म मिति उल्लेख रहेको ती वकिलले बताए ।
पीडित किशोरीको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइँसराइ प्रमाणपत्रमा पनि सोही जन्ममिति उल्लेख गरिएको छ । सन्दीपलाई हिरासतमा राख्न म्याद थप भएपछि काठमाडौं जिल्ला अदालतबाट बाहिरिने क्रममा अधिवक्ता सुधा रिमालले आफूहरूसँग ती किशोरी नाबालिग नभएको प्रमाण सुरक्षित रहेको दाबी गरेकी थिइन् । ‘पीडित नाबालिग नभएको तथ्य हामीले फेला पारेका छौं । प्रमाण हामीसँग छ । त्यसलाई अदालतमा पेश गर्छौं,’ अधिवक्ता रिमालले भनेकी थिइन् ।