काठमाडौं– हवाई नीतिमा वायुसेवा प्रदायक कम्पनीहरूले दुर्गम क्षेत्रमा अनिवार्य उडान गर्नुपर्ने व्यवस्था भए पनि नेपालका अधिकांश कम्पनी त्यसमा अनिच्छुक रहँदै आएका छन् । लाइसेन्स लिने बेला दुर्गममा अनिवार्य उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका कम्पनीहरू सुगममै सीमित हुँदा नियामक निकाय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भने चासो नदिएको गुनासो छ।
‘सुगममा हवाई उडान गर्ने कम्पनीहरूले एकातिर हवाई नीतिको व्यवस्था र अर्कोतर्फ सामाजिक उत्तरदायित्वको नियमअनुसार दुर्गम क्षेत्रमा उडान भर्नुपर्ने हो,’ जुम्लाका हरि बुढाले भने, ‘तर, नेपालमा सुगम रुटमा उडान गरेर मस्त कमाइरहेका कम्पनीलाई न नीति न सामाजिक उत्तरदायित्वले नै निर्देशित गर्न सक्यो ।’ देशभर हवाई सेवा दिँदै आएका ९ विमान कम्पनीमध्ये बुद्ध, श्री, सौर्य, यतीलगायतले दुर्गममा सेवा दिएका छैनन् । यतीको अर्को कम्पनी तारा एयरलाइन्ससँगै समिट र सीता तथा सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले भने दुर्गमका विमानस्थलमा उडान भर्ने गरेका छन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।