काबुल – अफगानिस्तानको राजधानी काबुलमा रहेको सैन्य विमानस्थलबाहिर आइतबार बिहान आत्मघाती विस्फोट भएको छ । यसको पुष्टि गर्दै तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्ताले यस हमलामा धेरै मानिस मारिएको बताएका छन् ।
यस्तै, समाचार एजेन्सी एएफपीले तालिबान अधिकारीहरूलाई उद्धृत गर्दै आक्रमण एयरपोर्टको गेटमा भएको र धेरै मानिसहरू मारिएको र घाइते भएको जानकारी दिएको छ । गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टाकोरले भने, ‘हाम्रा धेरै सहकर्मीहरू मारिएका र घाइते भएका छन् ।’
अगस्ट २०२१ मा अफगानिस्तानमा सत्ता ग्रहण गरेको तालिबानले सुरक्षा स्थितिमा सुधार भएको दाबी गरेको छ । तर पछिल्ला महिनाहरूमा अफगानिस्तानमा धेरै ठूला आक्रमणहरू भएका छन् । स्वघोषित चरमपन्थी संगठन इस्लामिक स्टेटको अफगानिस्तान शाखाले यस्ता धेरै आक्रमणको जिम्मेवारी लिएको छ । गत महिना बन्दुकधारीहरूले एउटा होटलमा आक्रमण गर्दा कम्तीमा पाँच चिनियाँ नागरिक घाइते भएका थिए । यस हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो ।