संसदीय समितिकाे बैठक सिंहदरबारमा सुरु

0 Shares

काठमाडौँ – सार्वजनिक लेखा समितिको बैठक प्रारम्भ भएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । आम निर्वाचन सम्पन्न भएको पाँच महिनापछि आजबाट संसदीय समितिको बैठक सुरु भएको हो । समितिहरूको सभापति चयन भई नसकेकाले ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक सुरु गरिएको हो । लेखा समितिका ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीको सभापतित्वमा बैठक प्रारम्भ भएको छ ।

त्यसैगरी पूर्वाधार विकास समितिको बैठक पनि सुरु भएको छ । सो समितिका ज्येष्ठ सदस्य नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीको सभापतित्वमा पूर्वाधार विकास समितिको बैठक सुरु भएको हो ।  त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका  ज्येष्ठ सदस्य नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराइलीको सभापतित्वमा बैठक बसेको छ । आजैबाट अन्य समितिका बैठक बस्दैछन् । संयुक्त २ र विषयगत १० गरी १२ वटा समितिहरू छन् ।

त्यसैगरी शिक्षा तथा स्वास्थ्य समितिमा जेष्ठ सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद कालुराम राईको सभापतित्वमा बैठक बसिरहेको छ  भने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराको सभापतित्वमा बसिरहेको छ ।

सम्बन्धित समाचारसबै