काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन्।
शुक्रबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले नेता डा. शेखर कोइरालालाई पेलेर एकपक्षीय निर्णय गर्दै अघि बढेको सन्दर्भमा थापाले सार्वजनिक रुपमा कडा अभिव्यक्ति दिएका हुन्।
चौधौँ महाधिवेशनमा डा. कोइराला प्यानलबाटै महामन्त्रीमा निर्वाचित थापाले पार्टीमा ठूलो असन्तुष्टि रहेको पनि सुनाए। यसका लागि पार्टीमा नयाँ विद्रोहको आवश्यकता भइसकेको पनि उनले बताए।
कांग्रेस पार्टीभित्र ठूलो असन्तुष्टि रहेको छ। यसका लागि नयाँ विद्रोह आवश्यक रहेको छ उनले भने, ‘आफ्नै पार्टीभित्र ठूलो शुद्धीकरण गर्ने बेला आएको छ। आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने अवस्था छ।’
उनले अहिलेको संसदीय व्यवस्था चुनावदेखि चुनावसम्मको गोलचक्करमा फस्दै गएको पनि बताएका छन्।
नेपाली राजनीति दलहरुको उद्देश्य चुनाव लड्ने र सत्तामा पुग्ने मात्रै भएको तर्क उनले दोहोर्याए।
थापाले पार्टीभित्रको अवस्था नै त्यस्तै रहेको बताउँदै कसैलाई निराश बनाउन यो कुरा नबोलेको पनि उल्लेख गरे। ‘मैले निराशाका कुरा गरेको होइन। अहिलेको अवस्था नै यस्तो छु,’ उनले भने, ‘युवाहरू कांग्रेसमा प्रवेश गरेकाले मलाई केही उत्साहित बनाएको छ।’
कांग्रेस र आफूप्रति भरोसा गरेर प्रवेश गरेका युवाहरुको भावनालाई आफूले मर्न नदिने प्रतिबद्धता उनले व्यक्त गरे।