मंसिर ४ ले अग्रगमन र प्रतिगमनको फैसला गर्छ : खड्का

0 Shares

कालिकोट– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मंसिर ४ गतेको चुनावले मुलुकको राजनीतिलाई कतातर्फ लैजाने भन्ने फैसला गर्ने बताएका छन् ।  मंसिर ४ को दिन प्रतिगामी शक्तिलाई विजयी गराउने वा अग्रगमनलाई जिताउने भन्ने फैसला गर्ने अधिकार जनताको हातमा रहेको उनको भनाइ छ ।

मंगलबार कालिकोटको मान्मामा आयोजित सत्तारुढ गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘स्थानीय तहमा प्रतिगमनलाई पराजित गरेर आयौँ, अब ७० वर्षभन्दा लामो इतिहासबाट बनाएको गणतन्त्र, संघीयलाई बचाउन र अग्रगमनलाई अगाडि बढाउन गठबन्धन जनताको बीचमा आएको छ ।’

साथै दुई तिहाईको सरकार बनाएर राष्ट्र निर्माणको नयाँ अभियानको एजेण्डा बोकेर गठबन्धन चुनावमा होमिएको उनले बताए। ‘ म कर्णालीका जनताको तर्फबाट भन्न चाहन्छु, ओलीको प्रतिगमनलाई परास्त गर्ने काम कर्णालीबाट भएको हो,’उनले भने,‘ राष्ट्रिय नेताहरुले यो कुरालाई बुझ्नुपर्ने हुन्छ र कर्णालीलाई प्राथमिकता दिइनुपर्छ ।’

साथै खड्काले कर्णाली करिडोर लगायतका ठुला परियोजनालाई मुर्तरुप दिनका लागि सरकारले प्रमुख प्राथमिकता राख्नुपर्ने बताए ।
राज्यबाट कर्णाली जहिले विमुख भइरहेको बताउँदै खड्काले अब त्यसको सम्मान गरेर विकसित कर्णाली निर्माणमा जोड दिनुपर्ने बताए ।

सम्बन्धित समाचारसबै